बाह्र लाखले हेरे अनमोलको यती यती पानी

काठमाडौं । गत आइतबार रिलिज फिल्म ‘कृ’को ‘यति यति पानी गंगा रानी’ बोलको गीतले युटुबमा र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अनमोल केसी स्टारर फिल्मको यो गीतमा अनमोलको नृत्य गर्ने शैलीको पनि प्रशंसा गरेका छन् ।

यो गीतलाई युटुबमा ४८ घन्टा नवित्दै १० लाख भन्दा बढीले हेरेका छन् । नेपालमा युटुब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा रहेको गीतले हालसम्म करिब १२ लाख भ्यूज पाएको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ ।

युटुबमा यसलाई ३० हजार भन्दा बढी लाइक्स मिलेको छ । सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । ट्रेलरपछि गीतले युटुबमा तहल्का मच्चाएपछि निर्देशक पौडेल दंग छन् ।

कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा श्री पराजुली सह–निर्माता छन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।