शाहरुखलाई आमिरको अभिनय अफर

मुम्बई(एजेन्सी) । बलिउड मिष्टर परफेक्टसनिष्टका रुपमा परिचित आमिर खान सिद्धार्थ रोय कपुरको फिल्म ‘स्यालुट’मा नदेखिने निश्चित भएपछि बलिउड बादशाह शाहरुख खानले आमिरको ठाउँ लिएका छन् । अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा आधारित यो बायोपिक फिल्ममा आमिरले शीर्ष भूमिकामा अभिनय गर्ने चर्चा थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार महेश मथाईले निर्देशन गर्ने फिल्मका लागि आमिरले आफै शाहरुखलाई भेटेर अभिनयको अफर गरेका छन् । आफूलाई भेट्न आएका आमिरलाई शाहरुखले ‘यति राम्रो भूमिकामा तिमीलाई किन अभिनय नगरेको ?’ भनी प्रश्न गरेका थिए । प्रत्युत्तरमा आमिरले आफू १० वर्षदेखि फिल्म ‘महाभारत’को प्रोजेक्टमा व्यस्त रहेकाले आफूले अरुको फिल्मको अफर अस्वीकार गरेको खुलाएका थिए । आमिरले फिल्मका लागि आफू पछि शाहरुख नै उपयुक्त हुने जनाउँदै उनलाई अफर गरिएको बताइएको छ ।

निर्माता सिद्धार्थसँग आमिर र शाहरुखको लामो समयसम्मको बहस र छलफल पछि फिल्मका लागि शाहरुखले अनुबन्धमा हस्ताक्षरसमेत गरिसकेका छन् । शाहरुखले यो फिल्म अघि आशुतोस गोवारिकरको फिल्म ‘स्वदेश’मा नासा इञ्जिनियरको भूमिकामा अभिनय गरिसकेका छन् ।