‘फिर्के हेर्दा पैसा खेर जाँदैन’

काठमाडौं । पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला प्रचारप्रसारका लागि मोफसल दौडाहामा छ । आइतबार झापा पुगेका फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ‘इकु’ले फिल्मले आफ्नो परिचय फेर्ने बताए । ‘म यसअघि दुईपटक ‘इकु’को भूमिकामा दर्शकमाझ आएँ । मेरो परिचय नै अहिले ‘इकु’ भइसकेको छ । तर, अब फिल्मबाट मेरो आफ्नो परिचय फेरिने विश्वास छ ।’ उनले भने ।

उनले फिल्म हेर्दा दर्शक हाँसेरै रमाइलो गर्ने बताए । ‘‘फिर्के हेर्नेले मनोरञ्जन मात्र होइन हाँसोले हल नै गुञ्जयमान हुन्छ । म यो दावी गर्न सक्छु कि ‘फिर्के’ हेर्दा तपाईको पैसा खेर जाँदैन ।’ उनले भने ।

यो फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि। गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।