बुद्धिसागरको फिरफिरेले जुरायो इकुको फिर्के

काठमाडौ। हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ले दुई फिल्म ‘इकु’ र ‘इकु ब्याक अगेन’ बनाए । पहिलो फिल्मबाट सफलताको स्वाद चाखे पनि दोस्रो फिल्मबाट पहिलोको जस्तो सफलता पाउन सकेनन् । अर्थात उनी असफल बने । यिनै इकु आगामी शुक्रबारबाट दर्शकका लागि नयाँ फिल्म ‘फिर्के’ लिएर हलमा आउँदैछन् । यो फिल्मको नाम जुर्नमा उनकै भनाईमा उपन्यासकार बुद्धिसागरको पुस्तक ‘फिरफिरे’ले ठूलो भूमिका खेलेको छ ।

‘हामीले कथा तयार पारिसकेका थियौं । तर, नाम के राख्ने भनेर हामीले धेरै सोच्यौं र धेरै नाम पनि आए । तर कथाअनुसार हामीले खोजेको नाम पाउन सकेका थिएनौ,’ उनले भने, ‘यस्तैमा म भिनाजुको घरमा जाने क्रममा बुद्धिसागरको ‘फिरफिरे’ भन्ने पुस्तक देखेँ । त्यसपछि ‘फिरफिर’ राख्ने कुरा आयो तर त्यो पनि उचित लागेन । यस्तैमा ‘फिर्के’ नाम मेरो दिमागमा जन्मियो ।’ उनले ‘फिर्के’को अर्थ धेरै लागे पनि गाउँघरबाट घुमाई–घुमाई शहरमा लैजानु अर्थात्, एउटा निचोडमा लैजानु नै फिर्के रहेको उनको ठम्याई छ ।

कमेडी प्रधान यो फिल्मले गाउँबाट शहर पसेको एक यूवकको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा शीर्ष भूमिकामा देखिएका सुलेमानकै वरीपरी कथा घुमेको छ । रवि डंगोल ‘बेमान’ले निर्देशन गरेको फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापालगायतका कलाकारको अभिनय छ । यसैबीच केन्द्रिय चलचित्र जाँचपास समितिले मंगलवार फिल्मलाई यूनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । योसँगै अब यो फिल्मलाई सबै उमेरसमूहका दर्शकले हेर्न पाउनेछन् ।