एकसाथ आयो ह्याप्पी डेजको आठ फष्टलुक

काठमाडौं । लण्डनमा खिचिएको फिल्म ‘ह्याप्पी डेज’को ८ फष्टलुक एकसाथ सार्वजनिक भएको छ । आगामी माघ १२ गते नेपालमा रिलिज हुने फिल्मले रिलिज मिति नजिकिँदै गएपछि प्रचार अभियानलाई तिब्रता दिन एकसाथ ८ फष्टलुक बाहिर ल्याएको हो ।

आठ फष्टलुकमध्ये ५ फष्टलुकमा कलाकारको चरित्रलाई देखाइएको छ । चरित्र फष्टलुकमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीले कब्जा जमाएका छन् । मिलन चाम्स निर्देशित फिल्म गत नोभेम्बरमा बेलायतमा प्रिमियर भएको थियो । प्रिमियरबाट फिल्मले बेलायतमा बस्दै आएका नेपालीबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

साढे २ करोडको बजेटमा निर्माण भएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनालको लगानी छ ।चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित फिल्ममा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको पनि अभिनय छ ।