ओस्कारका विद्यार्थीलाई इन्फिनिटीको छात्रवृत्ति

काठमाडौं । नेपालको पहिलो फिल्म कलेज ओस्कार इन्टरनेसनल फिल्म कलेजमा अध्ययनरत पाँच विद्यार्थीले सिंगापुरको इन्फिनिटी स्टुडियोको छात्रवृत्ति पाउने भएका छन् । स्टुडियोले बुधबार कलेजमा आयोजना गरेको कार्यक्रममा स्टुडियो प्रतिनिधि स्यु मोले छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिन् । यो साल निपिल शर्मा, दिवस अम्गाइँ, बबिन दुलाल, आशिष लिम्बू र सन्दीप श्रेष्ठले छात्रवृत्ति पाउने छन् । छात्रवृत्ति वापत उनीहरूले जनही ३५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

अस्कर कलेज र इन्फिनिटी स्टुडियोले अघिल्लो वर्षबाट विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेका हुन् । अघिल्लो साल कलेजका विद्यार्थीहरू अमेश भण्डारी, रिजन गजुरेल, मार्टिन भण्डारी, अंकित पौडेल र इशान भुसालले सो छात्रवृत्ति पाएका थिए । कार्यक्रममा बोल्दै स्यु मोले छात्रवृत्तिको रकम थोरै भए पनि यसले विद्यार्थीमा उर्जाको काम गर्ने बताइन् । ‘हामीलाई थाहा छ, हामीले दिएको पैसा ठूलो होइन तर यसले विद्यार्थीलाई उत्प्रेरित गरोस् भन्ने हाम्रो चाहना हो । हामी आउँदो दिनमा पनि अस्कर कलेजसँग सहकार्य गर्न ईच्छुक छौं,’ मोले भनिन् ।

उनले फिल्म निर्माण रचनात्मक प्रक्रियाका साथसाथै व्यवसाय पनि भएकाले विद्यार्थीले रचना र व्यापारलाई सँगसँगै लैजान सक्ने खुबी निर्माणका लागि पनि आग्रह गरेकी थिइन् । कलेजका प्रिन्सिपल विनोद पौडेलले सम्पूर्ण विद्यार्थीबाट ५ जनालाई मात्र छात्रवृत्ति दिनु पर्ने बाध्यताका कारण पाँच जनाको नाम छनोट गरे पनि बाँकीले आफूलाई अयोग्य नसम्झन आग्रह गरे ।

‘सबै विद्यार्थीमा उत्तिकै सम्भावना छ । हामीले छानेका ५ जना सक्षम र बाँकी अक्षम भन्ने होइन । योभन्दा ठूला पुरस्कारले तपाईंलाई पर्खिरहेका छन्’ पौडेलले भने । अस्कर कलेज र इन्फिनिटीले अन्य प्राविधिक विषयमा पनि क्रमैसँग साझेदारी गर्दै जाने योजना रहेको प्रिन्सिपल पौडेलले बताए ।