पूर्वको नाट्य यात्रामा ‘सरजमिन’

काठमाडौं । प्रदेश नम्बर १ का आठ सहरमा ‘दोस्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४’ हुने भएको छ । मण्डला थिएटरसँगको सहकार्यमा लेट्स इन्टरटेनमेन्टले गर्न लागेको नाट्य यात्रामा मण्डला नाटक समूहको नाटक ‘सरजमिन’को मञ्चन गरिनेछ ।  प्रवीण खतिवडाको निर्देशन रहेको नाटकमा बुद्धि तामाङ, विजय बराल, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, रञ्जना ओली, विनिता गुरुङ, संयोग गुरागाई, रोहित पौडेल, सिजन दाहाल, इगिहोपो कोइच सुनुवारलगायतको अभिनय रहनेछ ।

आगामी पुष २४ गते इटहरीबाट शुरु हुने नाट्ययात्रा झापाको धुलाबारी, इलामको चुलाचुली, सुनसरीको इटहरी, मोरङको रमाइलो, बेलबारी, लेटाङ, झोराहाट हुँदै माघ ८ गते विराटनगरमा समापन हुनेछ । नाट्य यात्राको स्थानीय आयोजकमा कलालय इटहरी, परिवर्तन थिएटर काकडभिट्टा, चुलाचुली रंगमञ्च चुलाचुली, रमाइलो युवा क्लव रमाइलो, झोराहाट नाट्य केन्द्र भोराहाट र आरोहण गुरुकुल विराटनगर रहेका छन् । बेलबारी र लेटाङमा भने स्थानीय निकाय र संघसंस्थासँग समन्वय गरेर सहकार्यमा कार्यक्रम आयोजना गरिदैंछ । नाट्य यात्राका लागि मण्डलाको १५ सदस्यीय कलाकार टोली आइतबार पूर्व जानेछ ।

लेट्स इन्टरटेनमेन्टका कार्यकारी प्रमुख विकाश बुढाथोकीले नाट्य यात्रामा स्थानीय कलाकार ५० घण्टे अभिनय कार्यशाला पनि दिइने बताए । ‘कार्यक्रमको दौरान मण्डलाका व्यावसायिक कलाकारको टोलीले स्थानीय स्तरमा नाटक गरि रहेका र सिक्न चाहने कम्तीमा २५ कलाकारलाई अभिनय सम्बन्धी आधारभूत प्रशिक्षण दिनेछन्,’ उनले भने,‘ कार्यक्रमले राजधानी र मोफसलका कलाकारबीच सञ्चार सम्पर्क बढाउने मात्र नभएर स्थानीय कला र कलाकारलाई सशक्तीकरण गराउन समेत मद्दत पु¥याउने विश्वास लिएका छौं ।’ उनका अनुसार नाट्य यात्रामा मण्डला थिएटर नेपालका निर्देशक राजन खतिवडा र नाटक ‘सरजमिन’का निर्देशक प्रवीणसहित नाट्य यात्राका कलाकारले कार्यशालामा तालिम प्रदान गर्नेछन् भने तालिमको सुपरीवेक्षण अभिनेता दयाहाङ राईले गर्नेछन् ।

लेट्स इन्टरटेनमेन्टले गत वर्ष पूर्वका धरान, इटहरी, विराटनगर, बेलबारी, लेटाङ र दमकजस्ता शहरहरुमा नाट्य यात्रा गर्दै मण्डलाको नाटक ‘डिग्री माइला’ र घुम्ती रंगमञ्च बस ‘जुनकिरी’मा ‘मनचिन्ते फिरन्ते’ नाटक मञ्चन गरिएको थियो ।