वाढीपीडितलाई ‘सुकर्म’ को कम्बल

काठमाडौं । नेपाली लोक–शास्त्रीय सांगितिक समूह सुकर्मले पर्सा जिल्ला, पटेर्र्वा सुगौली गाउँपालिका ५, मोर टोलका बाढीपीडितलाई कम्बल वितरण गरेको छ । गत साउनमा आएको बाढीबाट विस्थापित तथा घरविहिन बनेका पटेर्वा मोर टोलका ७३ घरधुरीहरू तराईमा बढेको जाडो र शीतलहरका कारण पीडित बनेपछि सुकर्मले उनीहरुलाई सहयोग गरेको हो ।

सुकर्मका तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्याय नेतृत्वको एक टोली मोर टोल पुगेर एक कार्यक्रमका बीच वाढी पीडितलाई कम्बल वितरण गरेको थियो । पटेर्र्वा सुगौली गाउँपालिकाकी उप–प्रमुख ममता महतो, वडा नम्बर १ का अध्यक्ष फरमान मियाँ तथा वडा सदस्यहरूको उपस्थितिमा पटेर्वाका शितलहर पीडित तथा विपन्न परिवार पहिचान गरी कम्बल वितरण गरिएको थियो । सुकर्म समूहले हरेक वर्षको गृष्मयाममा युरोपेली शहरहरूमा दिने सांगीतिक प्रस्तुति दिँदा आफूलाई प्राप्त हुने पारिश्रमिकवाट केही रकम सामाजिक कार्यका निम्ति छुट्याउदै आएको छ ।

‘पछिल्ला वर्षमा हामीले अनाथाश्रम तथा विद्यालय निर्माणका लागि सहयोग जुटाएका थियौं’, सितारवादक तथा सुकर्म समूहका डा. ध्रुवेशचन्द्र रेग्मीले भने, ‘यस वर्ष चाहिँ हामीले तराईमा शीतलहरका कारण कहर काट्न बाध्य आफ्ना दिदीवहिनी दाजुभाइलाई थोरै भए पनि न्यानो दिने कोशिस गरेका हौं । वीरगन्ज उद्योग वाणिज्य सघले हामीलाई शितलहर पीडितको पहिचान र तदनुरूप कम्बल वितरणमा सहयोग पुर्याएको छ ।’