सुदिक्षा नयाँ मिसेस ब्यूटी क्वीन

काठमाडौं । सिजन मिडियाले पहिलो पटक विवाहित महिलालाई लक्षित गरि आयोजना गरेको ‘लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल’को उपाधि काठमाडौं बुढानिलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले जितेकी छन् । २५ प्रतियोगीलाई पछि पार्दै उपाधि पोल्टामा पारेकी सुदिक्षाले टिभिएस जुपीटर स्कुटर, लेट मि इनको तर्फबाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फबाट ५० हजारको गिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलको तर्फबाट ४ दिन मलेसियाका भ्रमणको अवसर पाइन् ।

प्रतियोगितामा फष्ट रनरअप बनेकी जनकपुरकी दिपीका राईले लाभा स्माट मोबाइल फोन, एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा सेकेण्ड रनरअप विष्णुमाया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फबाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन् । उनले ‘मिस व्यूटीफुल आइज’को अवार्ड पनि जितिन् । प्रतियोगितामा थर्र्ड रनरअप बन्दै कल्पना बराल खतिवडाले ‘मिस पपुलर’ विधाको अवार्ड पनि जितिन् । प्रतियोगितामा ‘फोर्थ रनर अप’ बनेकी कृष्टी कार्की ‘मिस मल्टिमिडिया’ बनिन् ।

प्रतियोगितामा विधागत अवार्डतर्फ इश्वरी श्रेष्ठ तामाङ ‘अर्गनाइजर च्वाइस’, कविता राजवंशी शाह ‘ट्यालेन्ट’, सिर्जना श्रेष्ठ ‘पर्सनालीटी’, ज्योति बस्नेत ‘फोटोजेनीक’, कविता ओझा सिग्देल ‘वेष्ट हेयर’, मिना राई ‘वेष्ट फिगर’, सफला ताम्राकार ‘वेष्ट वाक’, मिना खनाल ‘वेष्ट डे«स’, कनक चतुरवेदी ‘वेष्ट स्माइल’, अम्बिका थापा ‘वेष्ट फेन्डसीप’, राधिका थापा श्रेष्ठ ‘भिर्योस च्वाइस’, शान्ति लिम्बु ‘वेष्ट स्कीन’ र सुजना लामा ‘वेष्ट डिसिप्लेन’ बने ।

दश वर्षदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिताको निर्णायकमा सौन्दर्यकर्मी कमला श्रेष्ठ, मिस नेपाल उषा खड्की, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, शिक्षक प्रेम गुरुङ, नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठ र डा. सविना भट्टराई थिए ।