डोलीमा केकी आउँदा रथमा देखिए नाजिर

काठमाडौं । तराई नेपाली फिल्मको प्रिमियर बिरलै मात्र हुन्छ । पहाडी र तराई मूलका मानिसको बसोबासको यो थलोमा शुक्रबारबाट रिलिज फिल्म ‘राज्जा रानी’को नौलो प्रयोगमार्फत प्रिमियर गरियो । तराईमा बढ्दो दहेजको कथामा निर्माण गरिएको यो फिल्मको प्रिमियर जनकपुरमा गरिँदा त्यहाँको माहौल विशेष देखियो । मैथिली भाषामासमेत तयार पारिएको फिल्मको प्रिमियरमा फिल्मका प्रमुख पात्र नायिका केकी अधिकारी र नायक नाजिर हुसेन विशेष आकर्षण बने ।

स्थानीयले रामजानकी बिहेजस्तै झल्को दिने गरेर केकीलाई डोली र अभिनेता नाजिरलाई रथमा चढाए । रामजानकी मन्दिरदेखि उनीहरुलाई स्थानिय हलमै लगिएको थियो । भोर नेपाल सामाजिक संस्थाले प्रिमियर आयोजना गरेको थियो ।

फिल्म हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएको जनकपुरबाट अनिल यादवले जानकारी दिए । दाइजो र छोरीलाई गर्भपतन गर्न दवाव दिने विकृतिविरुद्ध चित्रण गर्ने सिनेमाको मैथिली र नेपाली संस्करण शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।