३ सय करोडमा सलमानको ह्याट्रिक

मुम्बई(एजेन्सी)। बलिउड अभिनेता सलमान खानले बक्स अफिसमा नयाँ इतिहास रचेका छन् । उनको फिल्म ‘टाइगर जिन्दा है’ ले घरेलू बक्स अफिसमा रिलिजको १६ औं दिनमा ३ सय करोड रुपैंयाँ कलेक्सन गरेर नयाँ रेकर्ड बनाउँदै इतिहास रचेका हुन् । यो रेकर्डसँगै सलमान बलिउडमा यस्तो रेकर्ड तेस्रो पटक राख्ने पहिलो स्टार बनेका छन् ।

सलमान र कटरीना कैफको फिल्मले दुई हप्तामा ३ सय करोडको आकडा पार गर्न नसक्ने हो कि भन्ने आशंकाका बाबजुद फिल्म ३ सय करोड क्लबमा दर्ता भएको हो । अली अब्बास जफर निर्देशित फिल्मले घरेलू बक्स अफिसमा शनिवार ५ करोड ६२ लाख रुपैंयाँको कलेक्सन गरेको थियो । फिल्मको भारतीय कलेक्सन अब ३ सय दशमलब ८९ करोडको भएको छ ।

यसअघि सन् २०१५ मा रिलिज फिल्म ‘बजरंगी भाईजान’ घरेलू बक्स अफिसमा ३ सय २० दशमलब ३४ करोडको कलेक्सन गरेको थियो । त्यस्तै सुल्तान’ले २०१६ मा ३ सय दशमलब ४५ करोडको कलेक्सन गरेको थियो । ३ सय करोड कलेक्सनको संस्थापक आमिर खान हुन्, जसका दुई फिल्मले हालसम्म यो क्लबमा सदस्यता लिइसकेका छन् ।

सन् २०१६ मा रिलिज फिल्म ‘दंगल’ले ३ सय ८७ दशमलब ३८ करोड र २०१४ मा रिलिज ‘पीके’ले ३ सय दशमलब ८० करोडको कमाई गरेको थियो । बलिउडमा सर्वाधिक कलेक्सनको रेकर्ड फिल्म ‘बाहुबली २ कन्क्लूजन’ले राखेको छ । जसको लाइफटाइम नेट भारतीय कलेक्सन ५ सय १० दशमलब ९९ करोड छ ।