संगीताको कथामा अल्झिएका प्रेम

काठमाडौं । मौसममा प्रेमिल वायु चलिरहेको बेला ढुकढुकीका कथाहरु बोकेर संगीता श्रेष्ठ आइपुगेकी छिन् । युवा लेखिका श्रेष्ठका प्रेमकथाहरुको संगालो ‘कथामा अल्झिएका प्रेम’ ले यहि साता घुम्टो उघार्ने भएको छ ।  फरक उमेर र परिस्थिती बीच हुने प्रेमका बेग्ला बेग्लै घटनाहरु वर्णन गर्ने यी कथामा स्कुल, कलेज, कार्यालय, टोल–छिमेकदेखि लिएर दस वर्षे द्वन्द्वले सिर्जना गरेका परिस्थितीसम्म समेटिएका छन् ।

कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठले केहि वर्षअघि चरणवद्धरुपमा टेलिफिल्महरु निर्माण गरेकी थिइन् । ‘कथा प्रेमका’ नाममा देखाइएका ती टेलिफिल्महरुलाई त्यतिबेला धेरै दर्शकले मनपराएका थिए । युट्युबमा समेत उपलब्ध ती श्रृंखला प्रत्येकलाई हजारौं दर्शकले हेरेका छन् । यसरी आफ्नो लेखन र निर्देशनका कथाहरुलाई पर्दामा मनपराएका तिनै दर्शकहरुको प्रेरणाले उत्साहित भएपछि पुस्तकका पाठकहरुको माझमा पनि श्रेष्ठ उपस्थित भएकी हुन् ।

यसअघि पाठकले मनपराएका साहित्यिक कृतिहरु पर्दामा उतार्ने प्रयास धेरैपटक भइसकेको छ । पर्दाका दर्शकले मनपराएका सिर्जनालाई स्वयं पटकथा, निर्माण र निर्देशन गर्ने ब्यक्तिले साहित्यका पाठकहरु माझ उतार्नका निम्ति गरेको प्रयास पनि हो यो । टेलिफिल्मबाहेक पनि श्रेष्ठले करिब पाँच दर्जन म्युजिक भिडियो निर्देशन गरेकी छिन् ।

‘मैले ‘कथा प्रेमका’ शिर्षकमा सर्ट फिल्म बनाउन थालेपछि बिना संवाद प्रस्तुत हुने म्युजिक भिडियोको तुलनामा संवादसहितको २० मिनेट लामो फिल्म सशक्त हुनेरहेछ भन्ने थाहा पाएँ,’ श्रेष्ठ भन्छिन्, ‘त्यसपछि आफैँले पटकथा लेख्दा त्यो झनै मिठोसँग अभिब्यक्त भइदियो । त्यसैले मेरो ध्यान लेखनतर्फ मोडियो । यसरी यो किताब तयार भएको हो ।’ यो उनको पहिलो पुस्तक हो ।

संगीताका कथाहरुको वर्णन दृश्यात्मक छ, भाषा सरल किसिमले बगेको छ र घटनाहरुले मन छोएर जान्छन् । पुस्तकका सबै पात्रहरुको प्रेम गन्तब्यसम्म पुग्न सफल भएका छैनन् । तर, तन्नेरीवयका तरंगहरु र त्यसका प्रतिक्रियालाई संगीताले मिठो कथानकसहित प्रस्तुत गरेकी छिन् ।

‘बेग्लै विधामा परिचय बनाउने श्रेष्ठलाई नयाँ लेखिकाको रुपमा प्रस्तुत गरेका छौं,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘प्रेम दिवसको मौसममा विविधता खोज्ने पाठकहरुलाई पब्लिकेशनका तर्फबाट यो उपहार हो ।’

प्रेमको गुलाबी आवरणमा ढाकिएको पुस्तकमा दसवटा बेग्लाबेग्लै कथाहरु समेटिएका छन् । २ सय ७९ पृष्ठको पुस्तकलाई आउने शनिबार पब्लिकेशन नेपालयले सार्वजनिक गर्दैछ ।