चित्रकलालाई उजागर गर्दै आर्ट काउन्सिल

काठमाडौँ । नेपाल आर्ट काउन्सिलको कक्ष कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा विकास हुँदै गइरहेको छ । कलाको उत्थान गर्ने उद्देश्यले विसं २०१९ मा नेपाल आर्ट काउन्सिलको स्थापना भएको हो । राष्ट्रप्रमुखको हैसियतले स्थापनाको दिनमा कला परिषद्को संरक्षकको जिम्मेवारी तत्कालीन राजा महेन्द्रले लिए ।
कूल २८ हजार ४२३ वर्ग फिटमा फैलिएको कला परिषद्मा चारैतिर आकर्षक कक्ष छन् भने वर्षभरि नै कुनै न कुनै कला, चित्र तथा काष्ठकला तथा चित्र कोरिरहेका कलाकारले भरिएका हुन्छन् । अहिले पनि बंगलादेशको चित्रबाट एउटा कोठा सजिएको छ । प्रारम्भका दिन वरिष्ठ कलाकार लैनसिंह बांगदेलले नेतृत्व गर्दै आएको सो परिषद्मा हाल शताब्दी पुरुष सत्यमोहन जोशीले नेतृत्व दिइरहेका छन् ।
कलाकारले आफ्नो सिर्जना प्रस्तुत गर्ने प्लेटफर्मका रुपमा रहेको कला परिषद्मा आफ्नो कला प्रदर्शनी गर्न आयोजकले एक फल्याटको दैनिक रु पाँच हजार शुल्क तिर्नुपर्छ । नेपाल कला परिषद्का वरिष्ठ अधिकारी गोकुल थापाले कला परिषद्मा वर्षभरि नै स्वदेशी तथा विदेशी कला प्रदर्शनी हुने गरिएको जानकारी दिए । त्यहाँ कला प्रदर्शनका लागि आउने स्वदेशी तथा विदेशी आयोजकलाई समान शुल्क लिने गरिएको छ । तर एकल चित्रकला प्रदर्शनी गर्ने तथा आर्थिकरुपमा कमजोर भएका आयोजकलाई १५ प्रतिशत छुट दिने व्यवस्था रहेको थापाले बताए ।
वरिष्ठ कलाकार लैनसिंह बांगदेल, तत्कालीन शिक्षामन्त्री कीर्ति्निधि विष्ट, मृगेन्द्र शमशेर राणा, नाटककार बालकृष्ण सम, पूर्वराजदूत यदुनाथ खनालको सामूहिक प्रयासबाट शुरु भएको नेपाल कला परिषद्मा हाल पाँच जना कर्मचारी कार्यरत छन् । निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका कारण सरकारी बजेटको व्यवस्था नरहेको र कला प्रदर्शनीबाट उठेको रकमबाट उक्त परिषद् सञ्चालन भइआएको छ । नेपालमा चित्रकला प्रदर्शनीको विकास नभइसकेको स्थापनाको दिनमा जर्मन, फ्रान्स आदि मुलुकका चित्र ल्याएर प्रदर्शनी गरेर नेपालमा चित्रकला प्रदर्शनीको विकास गरिएको थापाले बताए ।
वरिष्ठ चित्रकार हरि खड्काले ४० वर्ष लामो चित्रकलाको यात्रामा आफूले धार्मिक, नेपाली जनजीवन तथा हिमाल, पहाडजस्ता चित्र कोरेको बताए । ती चित्रबाट रु एक लाखसम्ममा कृति बिक्री हुने गरेको जानकारी दिए । उनले वरिष्ठ चित्रकार प्रेममान चित्रकारले धार्मिक तथा परम्परागत चित्र कोर्ने गरेको र उनको योगदान अतुलनीय रहेको उल्लेख गरे ।