तीन सहरमा नेपथ्यको सांगीतिक यात्रा

काठमाडौं । स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले अब यसै अवसरमा मुलुकका तीन सहरको सांगीतिक यात्रा गर्नेभएको छ । केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । पुस २८ गते झापाको दमकबाट सुरुहुने यो यात्रा माघ १ गते नारायणघाटहुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ । मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरहरुको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरुगरिसकेको छ ।

यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ । त्यहाँस्थित ‘थ्रीइन्क भिजन’, जय मिडिया र पुर्वाञ्चल रक्स ले आयोजना गर्ने कार्यक्रम बेलुकी साढे पाँच बजेदेखि सुरु हुनेछ । झापामा पहिलो शो सम्पन्न भएपछि नेपथ्य टोली नारायणघाटतर्फ लाग्नेछ । माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमै बेलुकी छ बजे नेपथ्य कन्सर्ट सुरुहुनेछ । त्यहाँस्थित ‘दाताज इभेन्ट म्यानेजमेन्ट’ले आयोजनाको जिम्मा लिएको छ । यसअघि पनि दुइ वर्षपहिले नेपथ्यले नदीको यस किनारमै भव्य कन्सर्ट आयोजना गरेको थियो ।

यसरी नारायणीको बलौटे किनारमा नेपाली लोक रक सुनाएपछि ब्याण्डको अर्को प्रस्तुती भैरहवामा हुनेछ । त्यहाँस्थित पक्लिहवा हाइस्कुलमा बिहीबार बेलुकी छ बजेदेखि नेपथ्य प्रस्तुती सुरुहुनेछ । त्यसै दिन सोनाम लोसार पनि परेकाले तामाङ समुदायको नयाँ वर्ष मनाउने अवसर नेपथ्यको कन्सर्टमा हुनेछ । नेपथ्यले तामाङ भेगबाट ‘भेँडाको ऊनजस्तो’ लगायत थुप्रै गीतहरु संकलन गरेको छ । भैरहवामा कार्यक्रम आयोजनाको जिम्मा ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले लिएको छ ।

‘द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि हामीले लामो समयसम्म विद्यालयका सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गरेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यस क्रममा निरन्तर खतरालाई चिर्दै मोफसलका श्रोता दर्शकहरुसँग जोडिएका हामी अहिले पनि कुनै न कुनै हिसाबले भेट्ने कोशिश गरिरहेकै छौं ।’

यस्तो अवस्थामा नेपथ्यको २५ औं वर्ष मनाइरहँदाको क्षण मुलुकको बाँकीका भागका श्रोताहरुमा पनि समर्पित गर्न पाउँदा आफुलाई खुशी लागेको गुरुङले बताए । कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरुमध्येबाट प्रस्तुतीका लागि चयन गरेको छ । त्यसबाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउनेछ ।