भर्जिनियामा रुचाइयो पञ्चायत

काठमाडौं । नेपालको पुरानो सामाजिक व्यवस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको फिल्म ‘पञ्चायत’को अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका नेपाली समुदायले मनपराएका छन् । उनीहरुले फिल्मले नेपालको पुरानो समाजलाई जस्ताको तस्तै प्रस्तुत गरेको भन्दै फिल्मको कथाबस्तु रुचाएका हुन् ।

फिल्मको प्रिमियर र अन्य विशेष शोको लागि अभिनेता सरोज खनाल अमेरिका पुगेका बेला गरिएको प्रिमियरमा सरोजसँग भेट्न पाउँदा नेपाली समुदाय खुशी भएका थिए । फिल्म हेरेर निस्केका दर्शकले फिल्म राम्रो बनेको भन्दै खुलेर प्रशंसा गरेका थिए । फिल्मको कथाबस्तु तथा सरोज खनाल र नीता ढुंगानाको अभिनयले दर्शकलाई तानेको थियो ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ ।

गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ । फिल्म नेपालमा चैत्र २ गते प्रदर्शन हुनेछ ।