विकास बोर्डमा सक्षम व्यक्ति नियुक्तः सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्र विकास बोर्डमा सरकारले सक्षम व्यक्ति नियुक्ति गरेको बताएका छन् । उनले फिल्म ‘फिर्के’ हेरिसकेपछि सोमबार सञ्चारकर्मीमाझ उक्त भनाई राखेका हुन् । चलचित्र विकास बोर्डमा लामो समयपछि निकिता पौडेललाई अध्यक्षको रुपमा नियुक्त गरेपछि उनको योगदानदेखि कामका बारेमा चर्चा परिचर्चा शुरु भईसकेको छ ।

उनले फिल्म समाजका विकृति हटाउन सन्देशमूलक रहेको बताएका छन् । ‘फिर्के’ हेरिसकेपछि मन्त्री बस्नेतले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कुनै पनि व्यक्तिसँग भएको प्रतिभा प्रस्फुटनका लागि सबैको सहयोगको आवश्यकता र प्रोत्साहनको खाँचो आँैल्याउदै सम्भव भएसम्म त्यस्ता व्यक्तिलाई सबैले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

फिल्ममा गाउँबाट शहरमा आउँदा सामान्य मानिसले भोग्नुपर्ने समस्या र सतर्कताबाट सन्देश दिइएको छ । सुलेमान शंकरको मुख्य भूमिका रहेको सो फिल्मका निर्मातामा ओमलाल गुरुङ र राजेश श्रेष्ठ तथा निर्देशकमा रवि डंगोल छन् । सुलेमानले यसअघि ‘इकु १’ र ‘इकु २’को निर्माण गरेका थिए ।