क्रिस्टल क्लजलाई ‘मिस्टर झोले’ को १ लाख

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर झोले’ले आयोजना गरेको फिल्मको गीत ‘ओखती’को कभर सङ नृत्य प्रतियोगितामा पोखराको क्रिस्टल क्लज क्रुले बाजी मारेको छ । फिल्मले सोमबार राजधानीमा विजेतालाई १ लाख ५५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरेको छ । सो समूहले यसअघि फिल्म ‘पुरानो डुंगा’को ‘नीर’ गीतको कभरसङ नृत्य प्रतियोगितामा पनि उपाधि जितेको थियो । प्रतियोगितामा काठमाडौंको किसन एन्ड डान्स क्रु दोस्रो बन्दै १ लाख २५ हजार रुपैयाँ पोल्टामा पार्दा इटहरीको डाइनामिक क्रियु तेस्रो बन्दै १ लाख ५ हजार रुपैयाँमा चित्त बुझायो ।

फिल्मका निर्देशक रामबाबु गुरुङका अनुसार प्रतियोगितामा देशभरबाट २५ वटा कभर भिडियोले सहभागिता जनाएका थिए । ‘फिल्मको फेसबुक पेजबाट कभर भिडियोका लागि आह्वान गरिएको लामो समयसम्म जम्मा एउटा मात्र भिडियो आएको थियो । पुरस्कार तीनवटा र भिडियो एउटा मात्र हुँदा के गर्ने भन्ने अन्यौल थियो,’ उनले भने, ‘तर पछि बिस्तारै राम्रै संख्यामा भिडियो आएपछि हामीलाई छनोट गर्न सजिलो भयो ।’

फिल्मका निर्माता टेकेन खड्काले भूगोल, सोच र प्रस्तुतिका आधारमा जुरीले विजेता छानेको बताए । अभिनेता दयाहाङ राईले फिल्मको गीतलाई सहयोग गर्नका लागि युवाको समूहले गरेको प्रयास सराहनीय रहेको बताए । विजेता तथा उपविजेतालाई अभिनेता दयाहाङ, अभिनेत्री दिया पुन, निर्देशक रामबाबु, निर्माता टेकेन र रौनकविक्रम कँडेलले पुरस्कार प्रदान गरेका थिए ।

फिल्ममा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रवीण खतिवडा, अरुणा कार्कीलगायतको अभिनय छ । रामबाबुकै कथा र लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र विक्रम स्वाँरको कोरियोग्राफी छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा टेकेन खड्का निर्माता र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।