ऐश्वर्या अब सरोगेट आमा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले हालै मात्र फिल्म ‘फन्ने खां’को सुटिङ सकेकी छन् । अब आगामी दिनमा कुन फिल्ममा काम गर्ने भनेर स्क्रिप्ट धमाधम पढिरहेकी छन् । केही दिन अघि मात्र उनी ‘रात और दिन’को रिमेकमा देखिने चर्चा पनि चलेको थियो । अब उनी सरोगेसीमा आधारित फिल्म ‘जैस्मिन’मा काम गर्ने सोच बनाएकी छिन् । फिल्मका निर्माताले मुख्य भूमिकामा अभिनयका लागि प्रस्ताव गरेपछि उनी यसमा सकारात्मक देखिएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको सुटिङ गुजरात र राजस्थानको पुष्करमा हुनेछ । फिल्मलाई ‘ट्वाइलेट–एक प्रेम कथा’का निर्देशक श्रीनारायण सिंह र प्रेरणा अरोडा मिलेर बनाउँदैछन् । ‘ट्वाइलेट–एक प्रेम कथा’का स्क्रिप्ट लेखक सिद्धार्थ र गरिमाले यो फिल्मको निर्देशन गर्नेछन् ।

श्रीनारायणले यो समाचारको पुष्टि गर्दै आफूहरुले तीन वर्षदेखि यो विषयमा अध्ययन गरिरहेको बताए । ‘यो कथा गुजरातको एक महिलाबाट प्रेरित छ । जो बच्चा चाहँदिनन् तर उनी कोही अरुका लागि सरोगेट आमा बन्ने निर्णय लिन्छिन् । केही समयपछि उनले आफ्नो बच्चाको मायामा पर्छिन् र त्यो बच्चालाई पाउनुपर्ने माग राख्छिन् ।’उनले भनेका छन् ।

बलिउडमा यो भन्दा अघि पनि सरोगेसी कथामा फिल्म बनिसकेको छ । फिल्म ‘चुपके–चुपके’ र ‘फिलहाल’मा पनि क्रमशः प्रिती जिन्टा र सुस्मिता सेनले सरोगेट आमाको भूमिकामा अभिनय गरेका थिए ।