सगरमाथा चढ्दै कंगना ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चनको प्रतिभाबाट जोकोही पनि प्रभावित छन् । उनको अभिनयबाट प्रभावित हुनेमा बलिउड नायिका कंगना रनावत पनि पर्छिन् । अमिताभ पनि कंगनाको अभिनय कौशलबाट निकै प्रभावित छन् । एकअर्काको अभिनयको फ्यान भए पनि यो जोडीले सँगै स्क्रिन शेयर गर्ने मौका पाएका छैनन् । एक विज्ञापनका लागि मात्र सँगै टेलिभिजनको पर्दामा देखिएका यो जोडी अब चाँडै नै फिल्मको पर्दामा पनि देखिने भएका छन् ।

फिल्म निर्देशक आर बाल्कीले बनाउन लागेको एक फिल्ममा अमिताभ बच्चनलाई अनुबन्धित गरेका छन् । यो फिल्मको शीर्ष भूमिकामा देखिन लागेकी कंगना यसअघि नै अनुबन्धित भइसकेकी छन् । यो फिल्म विश्व रेकर्ड धारी पर्वतारोही अरुणिमा सिन्हाको कथामा आधारित हुनेछ । अरुणिमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अपांग आरोही हुन् । उनले आफू अपांग भएर पनि नक्कली खुट्टाको सहाराले सगरमाथा आरोहण गर्दै विश्व रेकर्ड बनााएकी थिइन् । अरुणिमाले सन् २०१३ को मे २१ मा सगरमाथाको आरोहण गरेकी थिइन् ।

फिल्ममा कंगनाले अरुणिमाको भूमिका निभाउनेछिन् भने अमिताभ आरोहण प्रशिक्षकका रुपमा देखिनेछन् । बाल्कीसँग कंगनाको यो पहिलो सहकार्य हो । अमिताभले चाहिँ यसअघि ‘पा’, ‘पैड मैन’ र ‘शमिताभ’ जस्ता फिल्ममा काम गरिसकेका छन् । फिल्ममा कंगना अशक्त भूमिकामा देखिनेछिन् । यो भूमिकाका लागि कंगनाले दुई महिना कडा तयारी गर्नुपर्नेछ ।

फिल्मका लागि कलाकारहरुसँग् आधिकारिक रुपमा सम्झौता भइसकेको छैन । तर मौखिक सहमति बनिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको छायांकन लोकेशन पनि कहाँ हुने निश्चित भइसकेको छैन । तर फिल्म विज्ञहरुका अनुसार फिल्मको सुटिङका लागि टोली नेपाल आउने सम्भावना प्रबल छ ।