साम्राज्ञी सर्दा दंग स्वेता

काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘कृ’सँग जुध्ने भएपछि माघ २६ गतेबाट एकहप्ता पछि सरेको फिल्म ‘कान्छी’ सोलो रिलिज हुने भएको छ । अभिनेत्री स्वेता खड्काको निर्माण र अभिनय रहेको फिल्म माघ २६ बाट सरेर फागून ४ मा पुग्दा यो मितिमा अर्को फिल्म ‘मंगलम्’ पनि रिलिजका लागि तयार भएर बसेको थियो ।

शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई, पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मंगलम्’मा नवल नेपालको निर्देशन छ । तर छविराज ओझाले निर्माण गरेको ‘मंगलम्’ फागुन २६ मा पुगेपछि ‘कान्छी’ सोलो रिलिज हुन लागेको हो ।

आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । आफ्नो फिल्म सोलो रिलिज हुने भएपछि फिल्मकी कान्छी अर्थात स्वेता दंग परेकी छन् । उनले फिल्म सोलो रिलिज हुन लागेकाले दर्शकले कुनै अन्यौल बिना नै फिल्म सहज रुपमा हेर्न पाउने स्वेताले बताइन् ।

माघको पहिलो साता प्रोमो रिलिज गर्ने तयारीमा रहेकी श्वेता फिल्म राम्रो बनेको दाबी गर्छिन् । ‘फिल्मले दर्शकलाई निराश पार्दैन,’उनले भनिन्,‘फिल्ममा समावेश चरी चट्ट बोलको गीतले युट्युवमा ८० लाखमाथि दर्शक पाइसक्दा फिल्म प्रति दर्शकको चासो निकै रहेको देखियो ।’

याम थापाको लेखन रहेको फिल्ममा श्वेता र दयासँगै निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा लगायतको अभिनय छ । राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।