ब्लाइन्ड रक्समा बेनिशाको यसरी उड्यो मन

काठमाडौं । दृष्टिविहिन युवती सृष्टि केसीको जीवनकथामा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’को पहिलो गीत ‘उड्यो मन’ सार्वजनिक भएको छ । फिल्मकी मुख्य नायिका बेनिशा हमालले फिचरिङ गरेको गीतमा कत्थक नृत्य र शास्त्रीय संगीतको मिश्रण छ ।

हरि लम्सालद्वारा संगीतबद्ध गीतमा नरेश भट्टराईका शब्द छन् । ‘धेरै समयपछि दर्शकले यो गीतमार्फत शास्त्रीय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ ।’

फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको पनि अभिनय छ । फिल्ममा बेनिशा दृष्टिविहिन सृष्टिको भूमिकामा छिन् । लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित फिल्म फागुन १८ गते अर्थात मार्च २मा नेपालमा रिलिज हुनेछ ।

नेपाल रिलिजको एकदिनअघि हङकङ प्रदर्शन गरिँदैछ । माघको पहिलो साता फिल्मले देशव्यापी टुर समेत थाल्दैछ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो ।