नाइँ भनेसी नाइँमा रेखा

काठमाडौं । नेपालको पहिलो महिला सुपरस्टार रेखा थापा २५ वर्षपछि म्युजिक भिडियोमा देखिने भएकी छन् । आनन्द कार्कीको लोकप्रिय गीत ‘लाग्छ मन हेरिरहुँ’मा अभिनय गरेकी रेखा त्यसपछि भने फिल्म क्षेत्रमै सक्रिय भइन् ।

रेखा गायक प्रकाश सपुतको शब्द र निर्देशन रहेको भिडियो ‘नाइँ भनेसी नाइँ’ मा देखिन लागेकी हुन् । यो भिडियो यही साउन १६ गते सार्वजनिक हुँदैछ । रेखाले प्रकाश सपुतले तीजलाई लक्षित गरेर निकालेको यस गीतको विषयवस्तुका कारण आफू म्यूजिक भिडियोमा देखिन तयार भएकी हुन्।

‘नाइँ भनेसी नाइँ’ बोलको गीतले एउटी बालिका, युवती, महिला र समस्त आमाहरूको आत्मसम्मानको विषय उठाएकोले म यो गीत गर्न तयार भएकी हुँ’, रेखाले भनिन्, ‘विगतमा पनि म समस्त छोरीहरूको सवालमा, उनीहरूको पक्षमा सधैं नै उभिंदै आएकी छु। त्यसका विविध मञ्च तपाईंहरूले देख्दै आउनुभएको छ। यसपटक यो संगीतको मञ्च मलाई उपयुक्त लाग्यो। यतिबेला म नारी मात्र नभएर एउटी छोरीकी आमासमेत भएकाले यो विषयलाई मैले ‘नाईं’ होइन ‘हुन्छ’ भन्नुपर्छ भनेर खेले।’

गायक हुँदै फिल्मका निर्माता, लेखक तथा निर्देशकसमेत बनिसकेका प्रकाश सपुतले गत वर्ष ‘बसन्त’ फिल्मका कारण तीजको छेकोमा गीत निकाल्न नसकेको बताउँदै, यो गीतको कन्सेप्ट तयार हुँदा नै रेखा थापालाई सोचेर बनाइएको बताए।

रेखाले म्यूजिक भिडियो नगर्ने सुनेको भए पनि विषयवस्तुका कारण थापाले स्वीकार्ने विश्वास आफूलाई भएकाले प्रस्ताव गरेको प्रकाशको भनाइ छ।

‘दिदीलाई जुन विषय छानिएको छ, त्यसले धेरै छोयो। उहाँसँग जब मैले विषयको कुरा गरें, उहाँले ‘यसमा फिल्म बनाउन सकिंदैन ?’ भनेर सोध्नुभएको थियो’, प्रकाशले भने, ‘अहिले फिल्म बनाउनचाहिँ अलि तयारी छैन, ‘भिडियोमार्फत भनौं, अझ धेरै ठाउँमा पुग्छ’ भनेपछि दिदी खेल्न तयार हुनुभयो।’

प्रकाशले यो ‘नो मिन्स नो’ गीतका लागि ५–७ वटा मेलेडी बनाएको जानकारी दिए। गीतमा एलिना चौहान तथा समीक्षा अधिकारीले स्वर दिएका छन् ।