३५ दिनमा मिरमिरेको छायांकन पुरा

काठमाडौं । यम शेर्पाको निर्देशन रहेको फिल्म ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा फिल्मको छायांकन सकिएको हो । काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा फिल्मको छायांकन भएको हो ।

निर्देशक शेर्पाले फिल्मको एक गीतको छायांकन बाँकी रहेको बताए । फिल्म माघ १ गते रिलिज हुँदैछ । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । फिल्ममा बाल–कलाकार शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय छ ।

निर्देशक यमकै कथा लेखन रहेको फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता, गोविन्द बोहरा, सुदिप कुँवर सह–निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर र रोहित कट्टेल कार्यकारी निर्माता छन् । फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।