मुहुर्तसँगै छायांकनमा काजी

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने फिल्म ‘काजी’को मुहूर्त गरिएको छ । शुक्रबार दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गरिएको हो । फिल्मको मुहूर्तसँगै निर्माण छायांकनको लागि स्याङ्जा पुगेको छ ।

भदौ ८ गते आइतबारबाट यो फिल्मको छयांकन सुरु गरिने निर्देशक लक्ष्मण रिजालले बताए । उनी यही फिल्मबाट करिब ८ वर्षपछि निर्देशनमा फर्केका हुन् । आफुले खोजेको जस्तै स्कृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको निर्देशक रिजाल बताउँछन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने प्रेमकथाको फिल्म रामप्रसाद रिजालले निर्माण गर्दैछन् । यो फिल्मको छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । प्रदीप भारद्धाजको लेखन रहेको फिल्म चिन्तनराज भण्डारीले खिच्दै छन् । फिल्मका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका हुन् । यो फिल्म सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ ।