हरिबहादुरको जुत्ताः ढुक्क छन् निर्माता

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ । हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अब ठुलो पर्दामा आउने भएको हो। हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्।

सोही कारण पनि यो फिल्मलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ। रमाइलो र पारिवारिक फिल्म दशैको माहोलमा दर्शकले रुचाउने भएका कारण पनि यो फिल्मले बक्स अफिसमा राम्रो प्रभाव पर्ने अनुमान छ।

पोष्टरदेखि सार्वजनिक गीत र टिजरलाई दर्शकले प्रेम देखाईरहेका छन्। सामाजिक संजालमा फिल्मका गीतका क्लिपहरु भाइरल रहेका छन्। २ हप्ता अगाडी सार्वजनिक गीत ‘बेला बितेसी’ लाई युट्युवमा २६ लाख बढी पटक हेरिएको छ भने २ लाख ५० हजार जति टिकटक भिडियो बनेका छन्। अर्को गीत ‘ढाका टोपी शिरैमा’ लाई ३ दिनमा १० लाख बढी पटक हेरिएको छ।

फिल्म चल्न सक्ने यी आधार बाहेक पनि अरु आधारहरु रहेका छन्। फिल्मको टिम बलियो रहेको छ। हरिवंश आचार्यले नै लेखेको फिल्ममा उनको साथमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्णबहादुर थापाले खिचेको फिल्म नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।