प्रिमियरमा जारी २ को कथाको प्रशंसा

काठमाडौं । आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ बिहीबार कमलपोखरीस्थित बिग मूभिजमा आयोजना गरेको प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो फिल्मले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित पाहुनाको थियो ।

यो फिल्म हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारी बिग मूभिज पुगेका थिए । विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सवैको ध्यान खिचेको थियो ।

यो फिल्म हेर्न विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् । ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिए । आज दोस्रो भाग पनि हेर्न पाए । निकै खुशी लाग्यो । यो फिल्मले राम्रो सन्देश दिएको छ । त्यसमाथि पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्ने छ । सवैले एक पटक हुर्नु होला ।’ उनले भनिन् ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्म रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।