काठमाडौं । कान्तिपुर थिएटरमा सोमबारदेखि नाटक ‘महारानीको जात्रा’ मञ्चन हुने भएको छ । अभिनेत्री रेखा थापालाई डेब्यु गराएको नाटक ‘मीरा’ र अभिनेता जीवन लुइँटेललाई कमब्याक गराएको नाटक ‘शिरीषको फूल’ को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले तेस्रो नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्न लागेको हो।
यसपटकको नाटकमा कान्तिपुर थिएटरले फिल्म र रंगमञ्चकी अनुभवी अभिनेत्री उषा रजक र राज न्यौपानेसँगै नव–अभिनेत्रीहरू सुहाना आचार्य र निकीता आचार्यलाई मञ्चमा उतार्दैछ। लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।
रेमश पुरीको निर्माणमा बन्ने यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायत छन्। सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।
आगामी कात्तिक २४ गतेदेखि मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ। नाटक हेर्नका लागि विद्यार्थी तथा रंगकर्मीहरूका लागि प्रवेश शुल्क रु ३००, र साधारण दर्शकका लागि रु ५०० तोकिएको छ।






