काठमाडौँ । संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले नेपाली फिल्मको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना फिल्मकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार’ प्रदान गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, बोर्डका अध्यक्ष दिनेश डिसी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले फिल्मकर्मीलाई पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत फिल्कर्मीहरूमा कलाकार शिव श्रेष्ठ, सबिता गुरुङ, निर्देशक तीर्थ थापा, संगीतकार, गायक तथा निर्देशक यश कुमार, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू, निर्देशक सम्झना रौनियार, निर्माता तथा निर्देशक युवराज लामा, कलाकार हेमन्त बुढाथोकी, निर्माता किशन पोखरेल, कलाकार केशव भट्टराई(मरणोपरान्त), कलाकार नाजिर हुसेन, निर्देशक रिमेश अधिकारी, रंग संयोजक तथा प्राविधिक रेनिश फागो र गायिका अन्जु पन्त छन् । पुरस्कृतहरूले २० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरे ।
कार्यक्रममा मन्त्री खरेलले फिल्मकर्मी सरकारमा कहिल्यै नपुगे पनि उनीहरूको काम गराई सरकारको भन्दा बढी देखिएको बताए । उनले देश परिर्वतन हुनुमा फिल्मकर्मीको हात रहेकोले परिर्वतन र सचेतनाको यो युगसम्म आइपुग्न सफल भएको दाबी गरे ।
‘नेपाली समाजमार्फत रूपान्तरणका लागि नेपाली फिल्म क्षेत्रले गरेको योगदान मुलुकले भुल्दैन, भुल्न मिल्दैन र कहिले पनि भुल्नु हुँदैन’, उनले भने, ‘पहिला फिल्मकर्मीहरूले गाउँघर भित्रकै कथा देखाउने गरे पनि अहिले देशभित्र लुकेका, लुकाउने गरेका यथार्थ कुराहरू बाहिर ल्याउने गर्नुहुन्छ । फिल्म ‘परान’ र ‘पूर्णबहादुरको सारंगी’ जस्ता फिल्मले समाजमा धेरै कुरा सिकाउँछ ।’
बोर्डका अध्यक्ष डिसीले फिल्म क्षेत्र पनि लाभदायी हुने र इतिहासमा सम्झनलायक मन्त्री हुने गरी मन्त्रीले काम गर्ने विश्वास व्यक्त गर्दै बोर्डको तर्फबाट पनि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले फिल्म क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
मन्त्रालयकी सचिव राधिका अर्यालले फिल्म क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै, सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने उल्लेख गरिन् ।






