काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक फिल्म ‘सुम्निमा’ मार्फत नेपाली फिल्ममा नयाँ नायिकाको आगमन भएको छ। हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले फिल्मको मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस फिल्ममार्फत डेब्यु गर्दै छिन्। उनले यस अघि केहि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी छन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्मको नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताएका छन्। फिल्ममा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।
निर्देशक चाम्सका अनुसार फिल्म युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।






