काठमाडौं । बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनको धन’ देशैभरि तेस्रो सातामा प्रदर्शन भैरहेको छ । साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस फिल्मलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा पनि फिल्म हेरेपछि दर्शक रोएका, अशोकलाई अंगालो हालेका भिडियो भाइरल छन् ।
फिल्मका निर्देशक टंक बुढाथोकीले शनिबार आफ्नो फेसबुक मार्फत गुरु र चेला बीचको सम्बन्ध र कर्तव्यलाई विशेष रूपमा उजागर गरेको फिल्मप्रति प्राप्त प्रतिक्रिया प्रति खुशी व्यक्त गर्दै आजबाट फिल्म हेर्ने देशैभरिका विद्यालयलाई सकेसम्म सहयॊग र छुट दिन निर्माण टिम तयार रहेको जानकारी दिएका छन् । फिल्म हेर्ने विद्यालयहरूलाई आफु सहयोग गर्न तयार भएको भन्दै आफुलाई सिधै सम्पर्क गर्न आफ्नो फोन नम्बर समेत दिएका छन् ।
फिल्ममा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ,रवीन्द्र झा,पार्वती अधिकारी , एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्मको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहेकी छिन् ।






