अभिमन्युका दर्शक भन्छन्–नेपाली समाजको ऐना

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘अभिमन्युः च्याप्टर १’ हेरेका दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरुले यो फिल्म नेपाली समाजको ऐना भएको भनेका छन् ।

तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था फिल्मले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि बढिरहेको त्यसलाई देखाउँदा फिल्म हेर्नलायक बनेको दर्शकले बताएका छन् ।

उनीहरुले फिल्मका प्रमुख महिला पात्रलाई अगाडि बढाउनु उदाहरणीय काम भएको बताएका छन् । केही दर्शकले भने फिल्मले समाजको कथा बोकेकाले सबैले एकपटक फिल्म हेर्न आग्रह गरेका छन् ।

फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।

सुशान्त गौतमले निर्देशन गरेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।