बुटवलमा गेट हिल्ड विथ आयुषको दोस्रो शाखा

बुटवल । नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा आजदेखि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ । हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।

वैकल्पिक उपचार क्षेत्रमा ४ हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थापक रेग्मी यस शाखाले लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि उपचार पहुँच विस्तारमा मद्दत गर्नेमा विश्वस्त छन् ।

‘तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती तथा जीवनशैलीसम्बन्धी समस्याहरू समाधानमा राम्रो सफलता प्राप्त गरेका छौँ,’ रेग्मीले भने, ‘यस शाखामार्फत मानसिक स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य, सुरक्षित र वैज्ञानिक आधारमा उपलब्ध गराउनु हाम्रो उद्देश्य हो ।’

उनका अनुसार केन्द्रमा गेन्डम, मन्त्र, सम्मोहन विद्या, तन्त्र विद्या, महाविद्या साधना, भैरव साधनाजस्ता विधाहरू पनि सिकाइने छन् । नयाँ शाखाबाट हिप्नोथेरापी, ऊर्जा(हीलिङ, तन्त्र–आधारित अभ्यास, माइन्ड(बडी वेलनेस तथा समग्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिने केन्द्रले जनाएको छ । यहाँ व्यक्तिगत उपचार सत्र, हिप्नोथेरापी र रिग्रेसन थेरापी, ऊर्जा उपचार र चक्र व्यवस्थापन, सामूहिक प्रशिक्षण तथा माइन्ड ट्रेनिङ क्लास, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी विशेष कार्यशालाहरू सञ्चालन गरिनेछ ।

नेपालमा मानसिक स्वास्थ्यप्रति चेतना बढिरहेको अवस्थामा, बुटवलमा शाखा विस्तारले लुम्बिनी प्रदेश र आसपासका क्षेत्रका बासिन्दालाई वैकल्पिक उपचारको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।