मुगलान ट्रेलरमा राजनीतिक द्वन्द्व पछिको विदेश पलायन

काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो।

२ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ।

मुखियाको ऋण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल फर्किएर आउँदा घर रित्तो देख्छन् । उनले घरमा बाबुआमा देख्दैनन् । यही विषयलाई ट्रेलरमा समेटिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु प्रभात पाल, स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। प्रभात पाल,स्मारिका ढकालका अलवा ट्रेलरमा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतलाई देख्न सकिन्छ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमको पनि अभिनय छ । आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्मको को–प्रोड्युसर रिता चौधरी हुन्।