प्रज्ञा डबलीमा फाइनप्रिन्ट फिभर

काठमाडौं । फाइनप्रिन्ट बुक्सले नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा भोलि शनिबार(५ पुस)मा घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभरको काठमाडौं संस्करण आयोजना गर्ने भएको छ । गत कात्तिकमा चितवनबाट सुरु भएको यो महोत्सव पोखरा, सुर्खेत, नेपालगञ्ज र दाङ हुँदै काठमाडौं आइपुगेको हो ।

सम्राट उपाध्याय, नीलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान र केशव दाहाललगायत सहभागी हुने उक्त महोत्सवमा चार सत्र रहनेछन् ।

पहिलो सत्रमा मदन पुरस्कार प्राप्त कृतिकी लेखिका नीलम कार्की निहारिका र मोक्षभूमि लगायतका पुस्तकका लेखक तथा राजनीतिक टिप्पणीकार केशव दाहालबीच “आख्यानमा इतिहास” विषयमा कुराकानी हुनेछ ।

दोस्रो सत्रमा बेलायतमा पहिलोपटक प्रकाशित ‘ग्राफिक कमिक’ यल्प (यती)केयोस इन काठमाडौं की लेखिका स्नेहा प्रधानसँग प्रकाशक तथा महोत्सव निर्देशक मोनिता गुरुङले उक्त पुस्तकलाई केन्द्रमा राखेर संवाद गर्नेछिन् ।

तेस्रो सत्रमा मदन पुरस्कार विजेता अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे तथा लेखक–अनुवादक निरञ्जन कुँवरले लेखिका आल्फा शाक्यसँग ‘कस्तो भाषान्तर, कस्तो भावान्तर’ विषयमा छलफल गर्नेछन् । फाइनप्रिन्ट फिभरमा सेतो धरती र सल्लीपिर का अंग्रेजी अनुवादको सार्वजनिकरण हुने सन्दर्भमा यो छलफल आयोजना गरिएको हो ।

चौथो सत्रमा नेपाली(अमेरिकी लेखक सम्राट उपाध्यायको नयाँ ‘डिस्टोपियन’ उपन्यास डार्कमदरल्याण्ड माथि उद्यमी तथा फोटोग्राफर रिभा थापाले कुराकानी गर्नेछिन् । उक्त सत्रमा अमेरिकाको सोहो प्रेसबाट प्रकाशित उपन्यासको नेपाली संस्करणको विमोचनसमेत हुनेछ ।

फाइनप्रिन्टका लेखक र पुस्तकलाई ‘सेलिब्रेट’ गर्न तथा पुस्तक बजारलाई चलायमान बनाउने उद्देश्यले फाइनप्रिन्ट फिभर आयोजना गरिँदै आएको यसका परिकल्पनाकार नीरज भारीले बताए । २०८२ सालको फाइनप्रिन्ट फिभर काठमाडौंपछि इटहरी र बिर्तामोड हुँदै पश्चिमतर्फ धनगढी पुगेर समापन हुनेछ ।

दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने फाइनप्रिन्ट फिभरको काठमाडौं संस्करणमा चार पुस्तकको विमोचन, लेखकहरूसँग पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटसहितको पुस्तक प्रदर्शनी रहनेछ । यस कार्यक्रमले पाठकलाई लेखकसँग प्रत्यक्ष भेट्ने र उनीहरूका जिज्ञासा मेट्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।