काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ ।
प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा देखाइएका छन् । टिजर रिलिजसँगै फिल्मको नयाँ मिति पनि सार्वजनिक गरेको छ । पुस १० गते रिलिजको तयारीमा रहेको यो फिल्म अब माघ १६ गते रिलिज हुनेछ ।
बलिराम चौहानको निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मको को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।







