काठमाडौँ । फिल्म ‘एक्लो–१’ प्रदर्शनमा आएको छ। फिल्मले एक्सन, ड्रामा र भावनात्मक तत्वलाई सन्तुलित रुपमा प्रस्तुत गरेको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्मले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको छ।
साइन्स–फिक्सनमा आधारित यस फिल्मका निर्देशक प्रदीप शाही बेलायतमा बसेर चलचित्र निर्माणमा सक्रिय छन्, । यो फिल्म उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित फिल्म निर्माण गरिएको हो।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकन को समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। चलचित्रको छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।







