काठमाडौं । जर्जियामा हुन गईरहेको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट दुई बालबालिकाले प्रतिनिधित्व गर्ने भएका छन् । यो प्रतियोगितामा ‘डिएसए स्टार सिजन १५’को विजेता प्रनिक थापा र ‘डिएसए स्टार सिजन १६ को विजेता समृद्धि शाहले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । उनीहरुसँगै ‘डिएसए स्टार’ आयोजक परिवर्तन इभेन्ट हाउसका निर्देशक तथा वर्ल्ड राइजिङ स्टारका नेसनल डिरेक्टर राज बराइली पनि जर्जिया जाँदैछन् ।
प्रतियोगिता जर्जियाको राजधानी तिब्लिसीमा यही जनवरी ८ देखि १३ तारिखसम्म सञ्चालन हुँदैछ । यो प्रतियोगितामा विश्वभरबाट ४० भन्दा बढी देशहरु सहभागी हुँदैछन् । परिवर्तन इभेन्ट हाउसले दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’मा प्रतिनिधित्व गरिसकेको छ । दुई पटक नै नेपाली बालबालिका विश्व विजेता बनिसकेका छन् ।
हाउसका निर्देशक राज बराइलीले यसपटक पनि शीर्ष ताज नेपालमै ल्याउनका लागि तयारी गरिरहेको बताए । उनका अनुसार प्रतियोगिताका लागि नेपाललाई चिनाउने भिडियो निर्माण गरिएकाले त्यो भिडियो प्रतियोगितामा प्रदर्शन गरिनेछ ।
यो भिडियो परिवर्तन इभेन्ट हाउसको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिनेछ । संस्थाकी अध्यक्ष सोनिया जीआरले ‘वल्र्र्ड राइजिङ स्टार’को नेसनल डिरेक्टर समेत रहेका बराइली दुई बालबालिकासँगै जर्जिया जान लागेको जनाइन् ।







