सोनाम ल्होछारमा पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

पोर्चुगल । तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा ८ फेब्रुअरी २०२६ का दिन बिहान १२ बजे रिपब्लिका म्युजिका, एलदा, रुवा दो सेन्त्रो कल्चरल २९, १७००–१०६ लिसबोआ पोर्चुगलमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममार्फत सोनाम ल्होछारको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व प्रवासमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। यस अवसरमा नेपालबाट गायक तथा संगीतकार उर्गेन दोङ र गायिका रमला पाख्रिन तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, पोर्चुगलस्थित स्थानीय कलाकारहरूले मौलिक तामाङ सांस्कृतिक नृत्य, गीत र विविध प्रस्तुति प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रममा पोर्चुगलस्थित नेपाली नियोगका प्रमुख, एनआरएनए–एनसीसी पोर्चुगलका अध्यक्ष, विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी, कलाकार र साहित्यकारको उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक र शुभचिन्तकहरूलाई कार्यक्रममा उपस्थित भई उत्सवको शोभा बढाउन आग्रह गरेको छ।