एकल साँझमा गुञ्जिए शान्तिराम

काठमाडौ । विगत ४ दशकदेखि संगीतमा सक्रिय संगीतकार, गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । खोटाङको दिक्तेलमा ५५ बर्ष अगाडी माता मनहिरा र पिता राहामानको कान्छा छोराको रुपमा जन्मिएका शान्तिराम राईले आफ्नो ४ दशक लामो सांगीतिक सिर्जना यात्राका क्रममा २ हजार भन्दा बढी संगीत सिर्जना गरिसकेका छन् ।

आफ्नो पहिलो संगीत ‘तिमी तारे भिर म त लहरा’ सुनाएर कार्यक्रमको सुरुआत गरेका शान्तिराम राईले विभिन्न आठ वटा गीत गाएका थिए जसमा उनलाई गायिका स्मिता प्रधानले साथ दिएकी थिइन् । कार्यक्रम अवधिभर विभिन्न कालखण्डका प्रतिनिधि २१ वटा कालजयी अमर संगीतहरु सुनाइएको थियो ।

कार्यक्रममा शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ, जुनु प्रसाइँ र मनमा बी राईले शान्तिरामका संगीत रहेका गीत गाएका थिए । बिनुशा राई, एलिना राई र एलिना उदाशले सबै गीतहरुमा कोरस गाएका थिए ।

२६ जना बाद्यबादकहरुको लाइभ अर्केष्टामा गीत सुनाइएको कार्यक्रममा अशोक राईको संगीत संयोजन र निर्देशन थियो । नेपाल एयर लाइन्सको मुख्य प्रायोजन र प्याब्सन काठमाडौंको सहकार्यमा दर्जनौं देश तथा बिदेशी संघ संस्था, व्यक्ति र स्थानिय सरकारहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेशी तुवाचुङ नगरपालिका सहित डेढ दर्जन गाउँपालिकाहरुको साथ रहेको कार्यक्रमलाई खोटाङ कलाकार समाज काठमाडौंले आयोजना गरेको थियो ।