काठमाडौं । आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को ‘उडि जाउँ भने,म पन्छी होइन’बोलको गीतलाई ११ लाख बढी पटक हेरिएको छ । गत सोमबार ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको यो गीतले २ लाखभन्दा बढि दर्शकको साथ पाइरहेको छ।
गीतलाई १५ हजारले लाइक गरेका छन् भने ८ सय ५० हाराहारीले कमेन्ट गरेका छन्। अधिकांशको प्रतिक्रिया सकरात्मक रहेको छ। कमेन्टकर्ता रेनुका घलानले फिल्मको मुख्यअभिनेत्री तथा गीतमा फिचर्ड सुहाना थापाको प्रशंसा गरेकी छन्। उनी लेख्छिन्,‘कति राम्रो सुहाएको यो पहिरनहरुमा सुहानालाई।’
अर्का कमेन्टकर्ता समिर सुनारले पनि यस गीतमा अभिनय गरेका प्रकाश सपुत र सुहाना थापाकै प्रशंसा गरेका छन्। उनले त सुहाना थापा र प्रकाश थापाको फ्यान नै भएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘सुहाना थापा र प्रकाश सपुतका फ्यानहरु यता आउनु होला । ‘परालको आगो’फिल्मलाई सफलताको शुभकामना।’
४५ वर्षअघि निर्माण भएको पुरानो फिल्म ‘परालको आगो’को रिलिजका समयमा पनि उतिकै चर्चामा रहेको थियो । यो गीत अहिले पनि नयाँ पुराना पुस्तालाई उतिकै मन छोएको देखिन्छ। यस फिल्मका निर्माता सुशील पोखरेल गीतको चर्चा र प्रशंसाले उत्साहित बनेको देखिन्छन्। उनले शनिबार बिहानै गीतले एघार लाखभन्दा बढि दर्शक पाएको भन्दै दर्शकमाझ खुसी साँटेका छन्।
नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन्। गीतको शब्द रचना मन बहादुर मुखियाको छ। यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक अघि गाएको यो गीत अहिले पनि उतिकै सान्दर्भिक रहेको छ। निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीतमार्फत सम्झिएको पनि गीतको भिडियोमा देख्न सकिन्छ। यस गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। सुशील पोखरेलको लगानीमा निर्माण भएको यस फिल्मको निर्देशक भने लक्ष्मण सुनार हुन्। फिल्मलाई संकल्प भुजेलले खिचेको हुन् भने फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सम्पादन मिलन श्रेष्ठले गरेको यस फिल्मको रंग संयोजन कनाल कँवरको छ।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।




