नीलमले ल्याइन् उपन्यास राजमाता

काठमाडौं । उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल र लेखक निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे ।

कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन् । उनले साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेको र निहारिकाको ‘राजमाता’मा लामो खोज समेटिएको बताइन् ।

उनले इतिहासको एउटा कालखण्डलाई बुझ्न र त्यति बेलाको राजकीय शानमान एवम् सामाजिक–सांस्कृतिक रहनसहनबारे जानकारी दिन उपन्यास सक्षम रहेको बताइन् ।

लेखक निहारिकाले आफ्नो पुस्तक लेखनयात्राबारे चर्चा गरिन् । सन् २०१९ देखि ‘राजमाता’ उपन्यास लेख्न थालेको भए पनि बीचमा कोरोना महामारीले उपन्यास थन्किएको उनको भनाइ छ । ‘लेख्दालेख्दै मरिने हो कि ? जस्ता भावनाले मलाई त्यति बेला राम्रैगरी अल्झाए,’ उनले विगत सम्झिइन् । तर अहिले ‘राजमाता’लाई यसरी बजारमा ल्याउन पाउँदा आफूले सबै दुःख भुलेको उनले जनाइन् ।

अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको निहारिकाले बताइन् । मनमा अनेक विचलन आए पनि उपन्यास लेखेरै छाडेको उनको भनाइ छ । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।