साहु बा ट्रेलरः अपराध, अनुसन्धान र संघर्ष

काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको ट्रेलर आइतबार सार्वजनिक भएको हो । सार्वजनिक १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’मा केन्द्रित रहेको देखाएको छ ।

ट्रेलर फिल्मका प्रमुख पात्र विजु पार्कीको वरपर घुमेको छ । ट्रेलरमा एक्सन दृश्यहरू, प्रहरी अनुसन्धानको प्रक्रिया र पात्रहरूबीचको द्वन्द्वलाई उच्च गुणस्तरको सिनेमेटोग्राफीमा देखाइएको छ । बदलाको आगोमा जलिरहेको एक युवकको संघर्ष र उसले सामना गर्नुपर्ने आपराधिक सञ्जाललाई ट्रेलरमा स्थान दिइएको छ ।

निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो । यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । २४ एपिसोडको यो सिरिजलाई पूर्ण रूप दिन निर्माण टोलीले करिब तीन वर्ष खर्चिएको छ ।

सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।

आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको सम्पादक रामप्रसाद चौधरी हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

सिरिज आगामी वैशाख ४ गतेदेखि औपचारिक रूपमा प्रसारण हुनेछ । सिरिज मोमो एप र म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट प्रसारणमा आउनेछ ।