काठमाडौं । नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म ‘स्टेसन’को घोषणा गरेकी छन् । ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ । तर, सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेशन,’ केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
‘हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं,’ केकी भन्छिन्, ‘बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ ।’
उनले फिल्म भदौ १९ गते रिलिज हुने जानकारी दिएकी छन् । गत वर्ष सफल फिल्म ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन् । ‘स्टेशन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । फिल्मको निर्मातामा बद्री अधिकारी छन् । केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ ।
चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन । कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने उनले बताइन् ।




