काठमाडौं । विवशकुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’ को पहिलो प्रिमियर जापानमा हुने भएको छ । फिल्मको वर्ल्ड प्रिमियर सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ । ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा बेलुका विशेष प्रदर्शनी आयोजना गरिने निर्माण पक्षले जनाएको छ ।
प्रिमियरका लागि बनाइएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई स्थान दिइएको छ । पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ, जसले यो फिल्म महिला भलिबल र संघर्षको कथामा आधारित रहेको संकेत गरेको छ ।
पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन् । यसले फिल्ममा उनको एउटा संघर्षपूर्ण र प्रेरणादायी खेल यात्रा रहेको संकेत गर्छ । अर्की अभिनेत्री रोशनी कार्की साधारण र हँसिलो लुक्समा छिन् ।
‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो । निर्माण पक्षका अनुसार यो फिल्मले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतको पनि अभिनय छ ।
लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को(प्रोडुसरका रूपमा रहेका छन् ।
विकास गन्दर्भको डिओपी रहेको फिल्मका सम्पादक भुपेन्द्र अधिकारी हुन् ।




