काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘काजी’को रोमान्टिक पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत फिल्मको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी प्रेमिल मुडमा छन् ।
तस्बिरमा विपीनले परम्परागत ढाका टोपी, सर्ट र गञ्जी लगाएको देखिन्छ भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन् । विपिन र केकीको प्रेमले फिल्मको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षहरूमा केन्द्रित रहेको संकेत दिन्छ । पृष्ठभूमिमा गाउँघरको वातावरण, तोरीको फूलहरूले भरिएको खेत र पुरानो शैलीको भवन देखिन्छ, जसले सिनेमा ग्रामीण परिवेशमा आधारित हुनसक्ने अनुमान गर्न सकिन्छ ।
राम प्रसाद रिजालको प्रस्तुति रहेको फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको पनि अभिनय छ ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा नेहान रिजाल र विकाश राज जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले देशव्यापी रिलिज गर्नेछ ।




