काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’का लागि गायक कुशल पोख्रेलले गीत गाएका छन् । कुशलले गाएको गीतको भिडियोको गत सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा छायांकन गरिएको छ ।
गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार सौगात मल्लबाहेक सबैजसो कलाकार अँटाएका छन् । निर्माण पक्षका अनुसार सौगातको दृश्य केही दिनमा खिचिनेछ । गीतमा शब्द पनि गायक कुशलकै छ भने बेश चर्चिल भुसालको रहेको छ । मिक्सिङ र मास्टरिङको काम केपासले गरेका छन् । फिल्ममा दर्शकले कुशललाई कलाकारका रुपमा समेत हेर्न पाउनेछन् । कुशलले डेढ वर्षअघि गाएको गीत ‘पैसा’ चर्चित बनेको थियो ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्मित फिल्म कमेडी जनरामा आधारित छ । फिल्ममा सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका छ । सौगातले फिल्ममा ‘बब डाई’ को शीर्ष भूमिका निर्वाह गरेका छन् । नेवारी लवजमा ‘दाई’ लाई ‘डाई’ भनिने भएकाले फिल्मको नाम ‘बब डाई’ राखिएको फिल्मका निर्देशक प्रवीण श्रेष्ठले बताए ।
फिल्ममा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ । बालकलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन् ।
मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको यस चलचित्रको सम्पादन स्वयम् निर्देशक श्रेष्ठले नै गर्दैछन् । श्याम तामाङ र टोलीले खिचेको यस चलचित्रमा दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन् । फिल्मको रिलिज २०८३ मै हुने तर मिती केहि समयमै घोषणा गरिने बताइएको छ ।




