रोल नं.१ टिजरः छोराका लागि बाबुको सपना र निराशा

काठमाडौं । विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । टिजरमा मौसमजस्तै क्षणमै खोसिने आम मान्छेको सपना र भरोसाको कथालाई देखाइएको छ । आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले देख्ने सपना समेटेको टिजरले उक्त सपना पूरा नहुँदाको निराशा प्रस्तुत गरेको छ ।

पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट बञ्चित भइरहेको छ भन्ने यथार्थ टिजरमा समेटिएको छ ।

छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने तीतो सत्यलाई टिजरले देखाउने प्रयास गरेको छ ।

फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटिएको छ । फिल्म आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिका छ । फिल्ममा बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।