कादम्बरीको साहित्यीक इमा

काठमाडौं । साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको साहित्यिक कृति ‘इमा’ सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य प्रमुख अतिथिका रूपमा थिइन् भने कार्यक्रमको सभापतित्व स्वयं लेखिका कादम्बरी दाना श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा पेमा डोल्मा डेल्मुले वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा केयर गिभरको रूपमा कार्यरत रहँदै साहित्य सिर्जना गर्नु सामान्य कुरा नभएको उल्लेख गरिन् । उनले कठिन परिस्थितिबीच पनि लेखिकाले आफ्नो संवेदनशील अनुभवलाई पुस्तकको रूप दिन सफल भएको भन्दै त्यसलाई प्रेरणादायी उदाहरणका रूपमा चित्रण गरिन् ।

लेखिका कादम्बरीले इजरायलमा रोजगारीका क्रममा आफूले जीवनका अनेक अनुभव, संघर्ष, पीडा र आत्मीयता नजिकबाट महसुस गरेको बताइन् । पुस्तक प्रकाशनमा आफ्नो दाजुको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले नेपालमा जन्म दिने आमासँगै इजरायलमा आफूले धर्म दिने आमाजस्तै ममतामयी व्यक्तित्व पाएको स्मरण गरिन् ।

लेखिकाका अनुसार ‘इमा’ इजरायली शब्द हो, जसको नेपाली अर्थ ‘आमा’ हुन्छ । पुस्तकमा आमाप्रतिको माया, आत्मीय सम्बन्ध, वैदेशिक भूमिमा नेपाली कामदारले भोग्ने भावनात्मक संघर्ष, संस्कृतिको अन्तरसम्बन्ध तथा मानवीय संवेदनाका विविध आयामलाई समेटिएको छ । यसअघि उक्त कृतिको विमोचन इजरायलमै सम्पन्न भइसकेको छ । ‘इमा’ दिवंगत इम्प्लोयर माया वाइनको शोक स्मृतिको रूपमा आएको हो ।

प्रमुख अतिथि डा. शाक्यले कादम्बरीलाई ‘भाग्यमानी लेखिका’को संज्ञा दिँदै ‘इमा’ ले आमाप्रतिको भावना, ममता र संवेदनालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको बताइन् ।