मितज्यूलाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

काठमाडौं । केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी सेन्सर पास भएको यस फिल्मले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ शो प्राप्त गर्दै आक्रामक सुरुवात गरेको हो।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस फिल्मले हलहरूमा सुखद सो पाएको छ। एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर, सिमरा, लोत्से मल र विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका सिनेमा हलहरूले बुकिङ खुलाइसकेका छन्।
ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौज मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायतका कलाकारहरूको अभिनय छ ।

शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। हाल फिल्ममा समावेश ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू टिकटक र युट्युबमा निकै चर्चामा छन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।