काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले फिल्म ‘बिगुल’ हेरेका छन् । नेपाली समाजमा मौलाउँदै गएको भ्रष्टाचार,राजनीतिक विकृति, प्रशासनिक बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाएको फिल्मको राजधानीमा मंगलबार आयोजित बिशेष प्रदर्शनीमा पूर्वराष्ट्रपति डा.यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काग्रेस सभापति गगन थापा, पूर्वमन्त्री प्रदिप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायतको उपस्थिति थियो
पूर्वराष्ट्रपति डा.यादवले यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको यो समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे। पूर्वप्रधानमन्त्री नेपालले आफू धेरै समयपछि हलमा गएर नेपाली फिल्म हेरेको उल्लेख गरे। उनले देशको वास्तविकता बोल्ने फिल्म भनेर सुनेपछि हलसम्म आएको बताए।
काग्रेस सभापति थापाले फिल्मलाई परिवर्तनको ऐना भएको बताउदै यो फिल्मले युवा पुस्तालाई सोच्न बाध्य बनाउने र समाज रुपान्तरणको अभियानलाई थप बल पुर्याउने बिश्वास ब्यक्त गरे ।
दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको हो । आगामी जुन २६ देखि अष्ट्रेलियाका विभिन्न शहरहरूमा समेत प्रदर्शन गर्न लागिएको फिल्मको नेपाल पुन रिलिजको मिति केही समयमा तय गरिने छ । गत निर्वाचन भन्दा केही दिनअघि अर्थात् १ फागुनमा प्रदर्शनमा आएको फिल्मको चार दिनमै प्रदर्शन रोकिएको थियो ।
फिल्ममा बेनीशा हमाल,नरेन खड्का,जेएन घिमीरे,हेमन्त बुढाथोकी,बिनोद न्यौपाने,मिरा पण्डित,मान्सी शर्मा,रबिन्द्र खड्कालगायतका कलाकारले अभिनय गरेका छन् ।





